Wednesday, October 26, 2016

नेपाली भाषासम्बन्धी विवाद, प्रमुख समस्या र समाधानको बाटो (अवधारणापत्र) - डा.रामप्रसाद ज्ञवाली र डा.देवी नेपाल


१) विषयप्रवेश
नेपाली भाषाले आफ्नो करिब एक हजार वर्षको यात्रा पूरा गरिसकेको छ । यस अवधिमा अभिलेख, ताम्रपत्र, शिलापत्र, भोजपत्र, वाङ्मय, जनजिब्रो रसाहित्य हुँदै यो भाषा अहिले शैक्षिक माध्यम तथा सम्पूर्ण नेपालीहरूको सम्पर्क भाषामा विकसित भएको छ । यसको गतिशीलता र विकास अत्यन्त तीव्ररूपमा भइरहेको वर्तमान अवस्थामा विगत आधा दशकदेखि यसको समसामयिक परिवर्तनका नाममा विवादहरू देखिन थालेका छन् । विवाद वस्तुगत, बौद्धिक र प्राज्ञिक तहमा भन्दा बढी अराजक र उत्तेजनात्मक स्वरूपमा हुन थालेको देखिन्छ । यो विवाद हाल आएर सडक, पत्रपत्रिका, सामाजिक सञ्जाल हुँदै संसद् भवन, अख्तियार र सर्वोच्च अदालतसम्म पुगिसकेको छ । यो समस्या नेपालमा बस्ने नेपालीहरूको मात्र नभएर नेपाली जाति महाजाति र नेपाली भाषा साझा भाषा भएकाले विश्वभरि बस्ने सबै नेपालीहरूको साझा समस्या र साझा चिन्ताको विषय बनेको छ । अरू राष्ट्रहरूविज्ञान, निर्माण, विकास र सभ्यताका नयाँनयाँ उचाइतर्फ कुदिरहेको वर्तमान समयमा हामी नेपाली भने ह्रस्व र दीर्घको वितृष्णालाग्दो भद्दा विवादको भुमरीमा फँसिरहेका छौँ । विवादहरू वस्तुताभन्दा अतिवादी मार्गतिर बढ्दै गएको अवस्थाप्रति समस्त भाषाप्रेमीहरू चिन्तित बनेका छन् । त्यसैले भाषासम्बन्धी यस विवादलाई सहज तरिकाले समाधान गर्दै कसरी निकास दिन सकिन्छ भन्ने कुरामा गम्भीर विमर्श गरी उचित निकास निकाल्नु अपरिहार्य भएको छ । यो अवधारणापत्र त्यही उचित निकासको खोजीतर्फ लक्षित छ ।
२) नेपाली भाषाको विकासमा भएका पूर्ववर्ती कार्यहरू
नेपाली भाषाको लेख्य मानकको खोजीका क्रममा इतिहासदेखि नै विभिन्न अध्ययन–अनुसन्धानहरू हुँदै आएका छन् । तीमध्ये आधुनिक नेपाली भाषाको विकासमा भूमिका निर्वाह गरेका मुख्यमुख्य कार्यहरूलाई तल बुँदागत रूपमा प्रस्तुत गरिएको छ ः 
— नेपालबाट गोरखापत्र (१९५८) र दार्जिलिङबाट गोर्खे खबर कागज (१९५८) को प्रकाशन ।
— बनारसबाट सुन्दरी (१९६३) र माधवी (१९६५) पत्रिकाको प्रकाशन ।
— जयपृथ्वीबहादुर सिंहद्वारा लिखित तत्कालीन पाठ्यपुस्तकहरू ।
— पण्डित हेमराजको गोरखा भाषा चन्द्रिका (१९६९) को प्रकाशन ।
— सरकारी स्तरबाट नै गोरखा भाषा प्रकाशिनी समिति (१९७०) गठन र पछि यही समितिनेपाली भाषा प्रकाशिनी समितिमारूपान्तरण ।
— नेपाली भाषा प्रकाशिनी समितिको सक्रियतामा नेपाली कसरी शुद्ध लेख्ने ? (नेकशुले) (१९९१) लघु पुस्तिकाको प्रकाशन र यसैका आधारमा बगलीकोश (१९९८) को प्रकाशन ।
— पुष्करशमशेरद्वारा २००८ सालमा उच्चारणबारे विचार व्यक्त, बालकृष्ण पोखरेलद्वारा २०१३ सालमा झर्रोवादी आन्दोलनको थालनी, वल्लभमणि दाहाल र वासुदेव त्रिपाठीद्वारा २०३५ सालमा नेपाली उच्चार्य व्यवस्थाको चर्चा आदि विभिन्न रूपमा विभिन्न समयमा नेपाली भाषाको वर्णविन्यासमा केही नयाँपनको खोजी ।
— चूडामणि बन्धुद्वारा २०३६ सालमा उच्चार्य स्वर वर्ण ६ ओटा र उच्चार्य व्यञ्जन वर्ण २९ ओटा गरी नेपालीमा उच्चार्य मौलिक वर्णहरू ३५ ओटा रहेको धारणा प्रस्तुत ।
— २०३६ सालमा त्रिभुवन विश्वविद्यालयबाट अनिवार्य नेपाली शिक्षण निर्देशनको प्रकाशन ।
— २०३६ सालमा नै मोहनराज शर्माको शब्दरचना र वर्णविन्यास ः भाषावैज्ञानिक पद्धतिको प्रकाशन ।
— २०४० सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट नेपाली बृहत् शब्दकोश प्रकाशन ।
— २०५६ सालमा पाठ्यक्रम विकास केन्द्रद्वारा नेपाली पाठ्यपुस्तकको भाषामा एकरूपताको खोजी ।
— २०५७सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको आयोजनामा भाषा सङ्गोष्ठी सम्पन्न ।
यसरी विभिन्न चरणमा भएका पूर्ववर्ती प्रयासहरूबाट नेपाली भाषाको वर्णविन्यासको स्वरूप मानकीकरणको दिशातर्फ विकसित हुँदै आएको देखिन्छ । 
३) नेपाली भाषासम्बन्धी पछिल्लो विवादको जन्म र विकास
त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रअन्तर्गतको अनिवार्य नेपाली विषय समिति (२०६५) द्वारा देशका विभिन्न क्षेत्रमा गोष्ठीहरू सम्पन्नगरी अनिवार्य नेपाली शिक्षक निर्देशिका (२०६६) को प्रकाशन भयो र यसपछि नेपाली भाषाशिक्षणमा तहगत रूपमा वर्णविन्याससम्बन्धी अन्योल देखा पर्न थाल्यो । यसै क्रममा २०६६ सालमा नै नेपाली वर्णविन्यास सम्बन्धी १८ बुँदे चन्द्रगढी घोषणापत्र जारी गरियो । सीमित व्यक्तिहरूबाट भएको उक्त घोषणापत्रको चौतर्फी विरोध हुन थालेपछि विवाद स्पष्ट रूपमा देखियो भने २०६७सालमा उच्चमाध्यमिक शिक्षा परिषद्को नेपाली विषय समितिबाट अनिवार्य नेपाली विषयको पठनपाठनका लागि भनेरसबैको नेपाली पाठ्यपुस्तक तयार गरियो जसलाई साझा प्रकाशनले प्रकाशन ग¥यो । यस पुस्तकको प्रकाशनमा प्रचलित नेपाली वर्णविन्यासका केही मानकहरूलाई भत्काई नयाँ नियम लाद्ने काम भयो र उच्च माध्यमिक तहका शिक्षकहरूले अनिवार्य रूपमा यसै पछिल्लो लादिएको नियमलाई पालना गर्नैपर्ने उर्दी जारी गरियो । यसै उर्दीपछि आजको चरम विवादमा रहेको भाषाविवादले उत्कर्ष रूप पाएको देखिन्छ । २०६७सालमा नै नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नेपालीभाषा सङ्गोष्ठी सम्पन्न भयो र यसले पनि सर्वमान्य मानकीकरण गर्न सकेन । यसका विरुद्धमा २०६७ मा नै केही व्यक्तिहरूबाटनयाँ नेकशुलेका साथमा ललितपुर घोषणापत्र जारी गरियो ।
यसरी भाषाशास्त्री तथा नेपाली भाषाका प्रयोक्ताहरूबिच विवाद चलिरहेकै समयमा पछिल्लो परिवर्तनका पक्षधरहरूले सरकारी संरक्षणको आवश्यकताबोध गरी शिक्षा मन्त्रालयमार्फत नै आफ्ना मान्यता लागु गराउने योजना बनाए र पाठ्यक्रम विकास केन्द्र, सानोठिमीमार्फत नयाँ नेपाली वर्णविन्यास सम्बन्धी प्रस्तावशिक्षा मन्त्रालयमा दर्ता गराए जसलाई २०६९ साउन २२ गते शिक्षामन्त्रीको तोकआदेशबाट पारित गराइयो र पछि विद्यालयतहका नेपाली पाठ्यपुस्तकहरूमा यसैको अनिवार्य पालनाका लागि निर्देशन जारी गरियो । यसपछि शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार, साहित्यकार, वकिललगायत यसका सबैथरी प्रयोक्ता हुँदै यो विवाद पूर्वप्राथमिक विद्यालयदेखि विश्वविद्यालय, सडकदेखि सदन र अख्तियारदेखि अदालतसम्म पुगेको स्थिति आजको स्थिति हो । २०७२ साउन २५ गते ‘नेपाली भाषा बचाऊ अभियान’ घोषणा भयो । यसबिचमा २०७२ फागुनमा झापाको काँकडभिट्टामा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तर्राष्ट्रिय नेपालीभाषा सङ्गोष्ठी सम्पन्न गरी ७ बुँदे काँकडभिट्टा घोषणापत्र जारी गरियो र यसले समस्याको समाधान पहिल्याउनुको सट्टा विवादको आगोमा घिउ थप्ने काम ग¥यो। परिणामस्वरूप परिवर्तित वर्णविन्यासको विरोधमा २०७३ भदौदेखि रत्नपार्ककेन्द्रित घेराउ, हस्ताक्षर–सङ्कलन, प्लेकार्ड, नारा–जुलुसलगायतका गतिविधि हुँदै आएका छन् भने २०७३ भदौ २४ गते अधिवक्ता स्वागत नेपाल र पत्रकार प्रतिरोध कार्कीले सर्वोच्च अदालतमा नयाँ वर्णविन्यासको खारेजीको माग राख्दै मुद्दा दायर गरे र यस मुद्दामाथि छलफलसमेत भइसकेको छ भने यससम्बन्धी अदालती निर्णय आउन बाँकी नै छ । 
४) भाषाको बजारमा चलेका हल्लाहरू र अतिवादहरु
नेपाली भाषाको परिवर्तित वर्णविन्याससम्बन्धी विवादले केही स्वस्थ र केही अस्वस्थ हल्लाहरू जन्माएको छ । यस क्रममा सम्बन्धित पक्षका केही व्यक्तिहरूबाट बौद्धिक मर्यादालाई बिर्सेर तल्लो तहसम्म गिरेर एकअर्काप्रति अशोभनीय दोषारोपण गर्ने कार्यहरू पनि हुँदै आएका छन् । यसबिचमा बजारमा निम्नप्रकारका हल्लाहरू चलेका देखिन्छन् ः
१) तथाकथित परिवर्तनकारीहरूले पैसा खानका लागि यस्तो गरेका हुन् । 
(‘सबैको नेपाली’पुस्तकमार्फत एकलौटी पारिश्रमिकबापत प्रत्येक लेखकका हातमा करिब १० देखि १३ लाखसम्म पाउने हल्ला)
२) प्रा.डा.हेमाङ्गराज अधिकारी र प्रा.डा.बद्रीविशाल भट्टराईको ‘प्रयोगात्मक नेपाली शब्दकोश’ का पछिल्ला संस्करणहरू परिवर्तित वर्णविन्यासमा आधारित भएकाले त्यसलाई बढीभन्दा बढी बेची पैसा कुम्ल्याउने उद्देश्यले यस्तो गरिएको भन्ने हल्ला ।
३) नेपाली भाषामाथि अनावश्यक र अराजक विवाद उत्पन्न गरी नेपालीभाषीहरूमा नेपाली भाषाप्रति नै वितृष्णा जगाएर नेपालीलाई नेपालको राष्ट्रभाषाबाट च्युत गराउने र सम्पर्क भाषाका रूपमा हिन्दी भाषालाई मान्यता दिलाई कालान्तरमा हिन्दी भाषालाई नै नेपालको राष्ट्रभाषाका रूपमा स्थापित गर्ने उद्देश्यले यस्तो गरिएको हो भन्ने हल्ला ।
४) संस्कृत भाषा र नेपाली संस्कृतिलाई छिन्नभिन्न बनाई पश्चिमा अपसंस्कृति फैलाउनका लागि क्रिस्चियन साम्राज्यवादको योजनामुताबिक पैसा खाएर यी परिवर्तनकर्ताहरू परिचालित छन् भन्ने हल्ला ।
५) अहिलेका आन्दोलनकारीहरूले सडकसङ्घर्षका माध्यमबाट नेपाल प्रज्ञा प्रतिष्ठानका वर्तमान पदाधिकारीहरूलाई हटाएर आफू प्राज्ञ बन्ने योजनासहित आन्दोलन गर्न थालेका हुन् भन्ने हल्ला ।
नेपाली भाषाको अध्ययन, अनुसन्धान र मानकीकरणका सम्बन्धमा भएका कार्यहरूबाट नेपाली भाषाको परिवर्तशीलतामा निकै ठुलो बल पुगेको छ तर यसबिचमा विवादको पनि जन्म भएर अहिले ‘नेपाली भाषा सिध्याउने पक्ष’ र ‘नेपाली भाषा बचाउने पक्ष’ भनी अतिवादी दुई धार देखापरेका छन् । अस्तित्वको लडाइँ, वैयक्तिक लहड र लुकेको यथार्थ आदितिर चासो नदिई तटस्थ भएर हेर्ने हो भने यी दुवै पक्षमा अतिवाद देखिन्छ । दुवै खालका अतिवादलाई तल केही बुँदाहरूमा सूचीकृत गरिएको छ ः
क) आफूलाई परिवर्तनका पक्षधर ठान्ने तर ‘भाषा सिध्याउनेहरू’को आरोप लागेकाहरूमा देखिएको अतिवाद
१) लगभग स्थापित हुनै लागेको नेपाली भाषाको वर्णविन्यासका बारेमा सबै भाषाभाषी र सम्बन्धित तथा लक्षित समूहसँग गम्भीर विमर्श र छलफल नगराई, लक्षित समूहलाई सहमत नगराई र विकल्पसमेत नदिई अचानक परिवर्तन गरी पाठ्यपुस्तक नै प्रकाशन गर्नु र नेपाली शिक्षकहरूलाई अन्योलमा पार्नु ।
२) युगौँदेखि प्रयोग हुँदै आएका र पाठक तथा लेखकसमेत अभ्यस्त भइसकेका ‘द्य, द्ध, द्व, क्त, ट्ट’ जस्ता संयुक्त अक्षरहरूलाई कुनै विकल्प नै नदिई समाप्त पार्ने गरी छुट्याएर लेख्नुपर्ने गरी मानकीकरण गर्ने प्रयत्न गर्नु र त्यहीअनुसार नेपाली बृहत् शब्दकोशको परिमार्जनसमेत गरिनु ।(हेर्नुहोस् ः नेपाल प्रज्ञा–प्रतिष्ठानको अनलाइन९धधध।लभउबबिअबमझष्।यचन।लउरकजबदमबपयकज० मा राखिएको नेपाली बृहत् शब्दकोशमा बुद्ध, विद्या, भानुभक्त, भट्ट जस्ता शब्द नै छैनन् । यी शब्द खोज्दा ‘यो शब्द शब्दकोशमा समावेश छैन’ भन्ने जवाफ आउँछ ।)
३) भाषालाई सम्बन्धित र लक्षित वर्गबाट अनुमोदन नगराई शिक्षामन्त्रीको तोकआदेशमार्फत मानकीकरण गर्ने प्रयास गर्नु ।
४) युगौँदेखि लेखिँदै आएका लक्ष्मीप्रसाद, गुरुप्रसाद, रामप्रसाद जस्ता नामहरूलाई समेत चलाएर पदवियोग गरी पूर्ववर्ती प्रयोगहरूलाई अशुद्ध पारिदिने प्रयत्न गर्नुका साथै हृदय चन्द्रसिंह प्रधान जस्तो अनौठो लेखनलाई मानक ठह¥याउनु ।
५) युगौँदेखि स्थापित हुँदै आएका मुनामदन, मनकामना, सगरमाथा, जनकपुर, कञ्चनपुर जस्ता कृतिका नाम वा ठाउँका नामहरूलाई समेत पदवियोग गरेर लेखिदिनु । हाँसोउठ्दो पक्ष त के छ भने ‘भक्तपुर’ पदयोग गरेर लेख्नुपर्छ र ‘ललितपुर’ पदवियोग गरेर लेख्नुपर्छ भन्ने जस्तो हावादारी पाराले मानकीकरण गर्ने प्रयत्न गर्नु ।
६) नामयोगीहरूमा दुई अक्षरका नामयोगीहरू‘तिर, तर्फ, भन्दा, मुनि, माथि’ आदिलाई जोड्ने र ‘अगाडि, पछाडि, बाहेक, अनुसार, अन्तर्गत, बमोजिम’ आदिलाई छुट्याउने जस्तोआधारहीन नियम बनाई मानकीकरण गर्न खोज्नु ।

७) समासका तहमा लिपिचिह्नको सङ्ख्या गनेर दुई लिपिचिह्नसम्म भए जोड्ने र तीन लिपिचिह्न भए छुट्याउने जस्तो आधारहीन र हास्यास्पद नियम अगाडि सारेर ‘मामाभान्जा’पदयोग गरेर लेख्ने र ‘मामा भानिज’पदवियोग गरेर लेख्ने नियम लाद्ने प्रयत्न गर्नु ।
८) संयुक्त क्रियालाई पदवियोग गरेर ‘जानु होस्, गर्नु पर्छ, भनि दिएँ, गरि सकि हाल्नु हुने छ’ जस्तो अव्यावहारिक नियम बनाई स्थापित लेखनमा समस्या सिर्जना गर्नु ।
९) लामो समयदेखि लेख्य नेपाली भाषामाश्रुतिसमभिन्नार्थक शब्दका रूपमा प्रयोग हुँदै र प्रयोगकर्ताद्वारा सहजरूपमा अनुसरण गरिँदै आएका‘फूल–फुल, तीन–तिन, जून–जुन, पूरा–पुरा’ जस्ता शब्दहरू सबैलाई तद्भवीकरणको नाममा ह्रस्वीकरण गरी अनेकार्थकमा प्रयोग गर्न बाध्य पार्ने प्रयत्न गर्नु ।
१०) ईकारान्त वा ऊकारान्त सम्पूर्ण विशेषणहरू दीर्घ लेखिँदै आएकोमा ईकारान्तलाई दीर्घ र ऊकारान्तलाई ह्रस्व गरी (‘रोगी’ दीर्घ र ‘छट्टु’ ह्रस्व) लेख्नुपर्ने आधारहीन नियम बनाई लागु गराउने प्रयत्न गर्नु । 
११) जाति र थर बुझाउने शब्दहरूमा पनि ईकारान्तलाई दीर्घ र ऊकारान्तलाई ह्रस्व पारी (‘राई’ दीर्घ र ‘लिम्बु’ ह्रस्व) लेख्नुपर्ने आधारहीन नियम बनाई लागु गराउन प्रयत्न गर्नु ।
१२) आगन्तुक र तद्भव सबै शब्दहरूमा ‘श–ष’ नलेखी दन्तमूलीय ‘स’ र ‘ण’ नलेखी ‘न’ लेख्नुपर्ने नियम लागु गर्नु तर ‘शाह, शाही, शेर्पा, कर्णेल’ जस्ता तद्भव शब्दमा परिवर्तन गर्न डराउनु जस्तो हाँसोउठ्दो नियम लागु गराउन प्रयत्न गर्नु । 
ख) आफूलाई ‘भाषा बचाउने पक्ष’ भन्नेहरूमा देखिएको अतिवाद
१) भाषाको विवादलाई बौद्धिक बहस र प्राज्ञिक छलफलको विषय नबनाएर नाराजुलुस, प्लेकार्ड, घेराउ जस्ता कुरामा रूपान्तरण गरी सुन्नै नसकिने गालीगलौज (नेपाली भाषाका तस्कर, हत्यारा, भाषाघाती, जातिघाती आदि) र अनावश्यक आरोप–प्रत्यारोप (क्रिस्चियनका दलाल, डलरका पुजारी आदि) मा उत्रिनु ।
२) परिवर्तन नै नगरिएको नियममा पनि सर्वसाधारणमा भ्रम फैलाएर आन्दोलनलाई अराजक मोडतिर धकेल्नु र परिवर्तित वर्णविन्यासका कमीकमजोरीहरूलाई मात्र नऔँल्याएर ‘अबदेखि ‘राष्ट्रपति’ लाई ‘रास्ट्र्अ पति’ यसरी लेखिन्छ’ भन्दै हुँदै नभएको कुरालाई सत्य साबित गर्न खोज्नु । साथै हरेक व्यक्तिलाई अब तपाईंको नाम, तपाईंको थर र ठेगानाहरू यसरी लेखिन्छन् भन्दैवर्णविन्यास बिगारेर देखाइदिनु र ३० प्रतिशत समस्यालाई शत प्रतिशत समस्या बनाएर होहल्ला मच्चाउनु ।
३) नेपाली बृहत् शब्दकोश (२०४०) ले समेत स्वीकार गरिसकेको र विद्यालयदेखि विश्वविद्यालयसम्मका पाठ्यपुस्तकहरूमा समेत प्रयोग भइसकेको वर्णविन्यासलाई फर्काएर नेपाली भाषाको स्वरूपलाई पुनः मध्यचन्द्रिका, नेकशुले वा बगलीकोशतिर अथवा राणाकालीन प्रयोगतिर धकेल्ने प्रयास गर्नु ।
४) नेपाली प्रयोग र प्रचलनमा लगभग स्थापित भइसकेका आगन्तुक शब्दहरूलाई नेपाली वर्णविन्यासअनुसार लेख्ने भन्ने नियमलाई समेत उल्ट्याएर ‘शहर, शहीद, शहादत, एशिया, फाउण्डेशन, इन्ष्टिच्युट, कानून’ जस्ता शब्दहरूपहिलेजसरी नै लेख्नुपर्छ भन्दै नेपाली भाषालाई पुनः प्राचीनतातिर धकेल्न खोज्नु । 
५) द्य, द्ध, द्व, क्त, ट्ट जस्ता संयुक्त अक्षरहरू संयुक्त नै लेखिए पनि ‘पद्म, सद्भाव, उद्घाटन, पङ्क्ति’जस्ता शब्दहरूमा त खुट्टा काटेरै लेख्ने प्रचलन स्थापित भइसकेको हो तर अहिले तिनलाई पुनः एउटा वर्णको पेटभित्र अर्को वर्ण घुसार्नुपर्छ (‘पद्म’ आदि) भन्ने कुरामा जिद्दी गर्नु । 
६) नेपाली लेखन केही मात्रामा पदवियोगमुखी र सरल पनि बन्दै गएको अवस्थामा समस्त शब्दहरूलाई जोडेरै लेख्नुपर्छ भनी पुनः ‘भाषा–शिक्षण–प्रशिक्षण–कार्यशाला–गोष्ठी’लाई एउटै शब्द मान्ने वा संस्कृत भाषामा जस्तै वारपार एउटै डिकोमा लेख्ने प्राचीन परम्परातिर फर्कन दबाब दिनु । 
७) परिवर्तित वर्णविन्यास शिक्षा मन्त्रालयबाट तोक लागेर आउँदा खिन्न हुनु तर सर्वोच्च अदालतमा मुद्दा पर्दा खुसी हुनु । एकातिर शिक्षामन्त्री भाषाविद् होइनन् भनी नाराजुलुस पनि गर्नु र अर्कातिर न्यायाधीशलाई भाषाविद् बनाउने अभियानमा पनि लाग्नु (जबकि यस्ता कुराको निर्णय भाषाविज्ञहरूद्वारा जनस्तरमा गम्भीर अनुसन्धान–अध्ययन गरेर मात्र गर्न सकिन्छ)।
४) समस्या समाधनको मार्ग
उल्लिखित दुवै पक्षका अतिवादी सोच र अहङ्कारपूर्ण व्यवहारका कारण अहिले नेपाली भाषाका आधिकारिक प्रयोक्ता र सर्वसाधारण प्रयोक्तामा समेत अन्योल सिर्जना भएको छ ।यतिमात्र नभई भाषा बिगार्ने र बचाउने भनिएका दुवै पक्षका बिचमा हात हालाहालको स्थिति पनि सिर्जना भएको देखिन्छ । विद्यालयदेखि विश्वविद्यालयसम्मका फरक फरक तह र कक्षामा गरिने भाषाशिक्षणमा वर्णविन्यासगत एकरूपता नहुँदा शिक्षणकार्यमा अन्योल र कठिनाइ उत्पन्न भएको पाइन्छ । कक्षागत औपचारिक शिक्षण र शिक्षणसामग्रीमा बाहेक पत्रकारिता, स्वतन्त्रलेखन र स्वतन्त्र कृतिप्रकाशन गरिरहेका भाषाप्रयोक्ताहरूले परिवर्तित वर्णविन्यासलाई स्वीकार गर्न सकेको देखिन्न । यतिमात्र होइन, परिवर्तनका क्रममा आधिकारिक समितिमा बसेर निर्णायक तहमा रही काम गरेका र लिखित सहमति जनाएका केही व्यक्तिहरूले पनि आफैले बनाएका परिवर्तित नियमलाई अस्वीकार गर्दै रचनालेखन र प्रकाशन गरेका र पछिल्लो चरणमा परिवर्तित वर्णविन्यासकै विरोधमा आन्दोलनमा सहभागी भएका देखिनाले थप अन्योल सिर्जना भएको देखिन्छ । यस्तो जटिल अवस्थामा नेपाली भाषामा देखिएको विवादको समाधान गर्र्न हामी निम्नलिखित सुझावहरू प्रस्ताव गर्छौं 
१) अहिलेको भाषाविवाद एउटा अतिवादका विरुद्ध अर्को अतिवादको रूपमा जन्मेको देखिन्छ । भाषालाई निजी अस्तित्व, लहड र जुँगाको लडाइँको विषय बनाइनु हुँदैन । भाषा एउटा कोठामासीमित र महत्त्वाकाङ्क्षी व्यक्तिहरू बसेर वा तोकआदेश लगाएको भरमा परिवर्तन गरिनु हुँदैन । भाषाको प्रयोग र परिवर्तनमा प्रयोक्ताहरूकोविशेष भूमिका हुने हुनाले त्यसका लागि प्रयोक्ताहरूलाई नै मुख्य आधार बनाइनुपर्छ । प्रयोगलाई आधार मानेर नियम बनाइनुपर्छ तर यसरी बनाइएका नियम प्रयोक्ताहरूले स्वीकार, ग्रहण र प्रयोग गरिसकेको अवस्थामा तिनलाई विनाआधार सरलीकरणका नाममा परिवर्तन गर्नु पनि गलत हुन्छ । भाषाको परिवर्तन राजनीतिक परिवर्तन जस्तो हुँदैन । यो बिस्तारै र क्रमशः आवश्यकताअनुसार हुँदै जाने कुरा हो । एकैपटक छलाङ मार्न खोज्दा दुर्घटना हुन सक्छ र त्यसलाई प्रयोक्ताले पचाउन सक्दैनन् ।
२) नेपाली बृहत् शब्दकोश (२०४०) मा रहेका थोरै मात्र कमीकमजोरीहरूलाईव्यावहारिक तथा वस्तुगत आधारमा हटाउँदै र आवश्यक परिवर्तन गर्दै तदनुकूल नेपाली भाषाको मानकीकरण गरिनुपर्छ तर स्थानीय भेदका रूपमा रहेका शब्दहरूलाई पनि पाणिनीले ‘प्राच्याम्, प्रतीच्याम्, उदीच्याम्’ आदि भनी समावेश गरेजस्तै स्थानगत पहिचान र प्रयोगसहित समावेश गर्न सक्दा अझ राम्रो हुन्छ । 
३) तद्भव शब्दको नेपालीकरणगर्नुपर्छ भन्ने कुरा दुई दशकभन्दा अगाडि नै स्विकारिएको हो तर क्षतिपूर्तिदीर्घीभवन भन्ने नियमका कारण मूल नियमभित्र समेटिने शब्दहरूभन्दा अपवादका शब्दहरूको सङ्ख्या बढी हुन पुग्यो । त्यसैले ह्रस्व भए पनि दीर्घ भए पनि अर्थमा फरक नपर्ने शब्दहरू (बुढो, ठुलो, तितो, निलो, दुध, मित, सिप, भिख, बिच, भिड आदि) लाई ह्रस्व गर्ने हो भने उच्चारणगत तथा अर्थगत समस्या पनि आउँदैन र अपवादको सङ्ख्यामा पनि कमी आउँछ तर प्रचलनमा स्थापित र प्रयोक्ताद्वारा पनि सहजै पचाइसकिएका शब्दहरू (फूल–फुल, तीन–तिन, जून–जुन, पूरा–पुरा आदि) लाई चाहिँ भिन्नार्थी भएका कारण प्रचलनअनुरूप नै राख्नुपर्छ ।
४) संस्कृत तत्सम शब्दहरूलाई प्रचलनअनुरूप यथावत् प्रयोग गर्नुपर्छ । 
५) आगन्तुक शब्दका हकमा नेपाली भाषाको मौलिकताका लागि उच्चारणअनुसार तद्भवको नियमअनुरूप(सहर, सहिद, सहादत, एसिया, फाउन्डेसन, इन्स्टिच्युट, कानुन आदि) लेख्नुपर्छ ।
६) संयुक्त अक्षर (द्व, द्ध, द्य आदि) का हकमा वैकल्पिक प्रयोगलाई मान्यता दिइनुपर्छ र प्राथमिक तहसम्मका विद्यार्थीले संयुक्त अक्षरमा कुन कुन वर्णहरू कसरी मिलेर आएका छन् भन्ने कुरा थाहा नभएर त्रुटिपूर्ण उच्चारण गर्ने तथा उच्चारणगत त्रुटिका कारण लेखनमा पनि त्रुटि गर्ने भएकाले अक्षरको बनोट देखाउँदा र उच्चारण सिकाउँदा नयाँ मान्यताअनुसार तथा लेख्न लगाउँदा प्रचलित रूपअनुसार शिक्षण गर्नुगराउनु उचित हुन्छ । कक्षा ६ देखि १० सम्म पूर्णरूपमा प्रचलित स्वरूपका शैक्षिक सामग्रीको प्रयोग गर्ने र लेखनको शुद्धता र उच्चारणमा शिक्षकको निर्देशनलाई प्राथमिकतामा राख्नुपर्छ । उच्चशिक्षामा भने पूर्णरूपमा प्रचलित रूपकै प्रयोग गर्नुपर्छ । 
७) समासका हकमा लिपिचिह्नको सङ्ख्या गन्ने प्रक्रियालाई नभई लघुसमास (असमस्त दुई शब्दसम्म) लाई पदयोग गरिनुपर्छ । 
८) नामयोगीका हकमा पनि लिपिचिह्नको सङ्ख्या गनेर पदयोग वा पदवियोग गर्नु अवैज्ञानिक हुन्छ । त्यसैले सबै नामयोगीलाई पदयोग गरिनुपर्छ । 
९) विशेषण शब्दका हकमा ‘ईकार, ऊकार’ दुवैलाई दीर्घ (‘रोगी, बुद्धू’ आदि) नै लेख्नुपर्छ । 
१०) जाति र थर बुझाउने शब्दको पदान्त स्वरवर्णका हकमा दीर्घ (‘राई’, ‘लिम्बू’ आदि) नै लेख्नुपर्छ ।
११) संयुक्त क्रियापदहरूका हकमा सामान्यार्थ क्रियाहरू (खानुपर्छ, खाइसक्यो, खाइसक्नेछ, भनिसकेछ, गरिसक्थ्यो आदि) पदयोग गरी लेख्नुपर्छ तथा अपूर्ण र पूर्ण पक्षका क्रियाहरू (पढ्दै छ, पढेको थियो, पढेको हुनेछ आदि) लाई पदवियोग गरी लेख्नुपर्छ ।
१२) व्यक्ति, ठाउँ र कृतिका नामहरूको हकमा(लक्ष्मीप्रसाद, मनकामना, मुनामदन आदि) प्रचलनअनुसार नै लेखिनुपर्छ ।
१३) रूढ भइसकेका र प्रचलनमा रहेका कार्यालयीय नामहरू (शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, जिल्ला शिक्षा कार्यालय आदि) को हकमा पूर्ववत्÷यथावत् प्रयोग गर्दा हुन्छ । 
१४) द्विरुक्त शब्दका हकमा पूर्ण द्वित्व (‘माथि माथि’, ‘घर घर’ आदि) मा दुवै शब्दले अर्थ दिने हुनाले पदवियोग गर्न सकिन्छ भने आंशिक (‘आआफ्नो’, ‘ससाना’आदि) तथा आपरिवर्तित (‘भातसात’, ‘आनीबानी’ आदि) द्वित्वबाट बनेका शब्दहरूलाई पदयोगमा नै लेख्नुपर्छ । 
१५) ‘अरू, हरू’ दीर्घ नै लेखिनु उचित हुन्छ । 
५) निष्कर्ष
यस अवधारणापत्रमा नेपाली भाषाका वर्णविन्यास र व्याकरणका सबै समस्यालाई नभएर परिवर्तित वर्णविन्यास र व्याकरणिक नियमका कारण उत्पन्न भएका विवाद र समस्यालाई मात्र केन्द्रमा राखी विचार प्रस्तुत गरिएको छ । यो पक्ष यस अवधारणापत्रको मुख्य सीमा हो ।
अन्ततः भाषिक समस्याको समाधान निजी महत्त्वाकाङ्क्षा, वैयक्तिक अहङ्कार, ज्ञानको दम्भ, लुकेको चलखेल जस्ता कुराले पनि हुन सक्दैन र सडकआन्दोलन, नाराजुलुस, बन्दघेराउ, झैझगडा, आरोप–प्रत्यारोप तथा आवेग आदिबाट पनि हुन सक्दैन । यस्ता समस्याको समाधान प्राज्ञिक बहस, वस्तुगत आधारहरूको खोजी, भाषाविद्हरूबिचको अन्तक्र्रिया, आधिकारिक संस्थाबाट गराइएका आधिकारिक सङ्गोष्ठीहरू, सम्बन्धित र लक्षित वर्ग तथाभाषिक समूहसँगको गम्भीर विमर्शबाट मात्र सम्भव हुन्छ । त्यसैले नेपाल प्रज्ञा–प्रतिष्ठान, विश्वविद्यालयहरूका नेपाली विभागहरू, पाठ्यक्रम विकास केन्द्र, साझा प्रकाशन, शिक्षा पत्रकार समूह, प्रकाशनगृहका भाषाविद् प्रतिनिधिहरू, भाषाविज्ञ प्राध्यापकहरू, भाषाका अनुसन्धाताहरू, विशिष्ट लेखक तथा साहित्यकारहरू, भाषाविद् पत्रकारहरू तथा स्वतन्त्र रूपमा भाषामाथि अध्ययन गरिरहेका विद्वान्हरूले परस्परमा हिलो छ्यापाछ्याप गरेर होइन; आपसमा संयुक्त गोष्ठी, विमर्श, विश्लेषणद्वारा एउटै निष्कर्षमा पुग्नु अपरिहार्य छ । यसका लागि नेपाल प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय र पाठ्यक्रम विकास केन्द्रले अगुवाइ गर्नुपर्छ तर एकपक्षीय बनेर अनावश्यक वक्तव्यबाजीमा लाग्नु हुँदैन ।


(मिति २०७३ कात्र्तिक १० मा नागार्जुन साहित्यिक प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको ‘वर्णविन्यास विवाद र निकास’ विषयक अन्तत्र्रिmयामा प्रस्तुत ।)

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल

२०७३ कात्तिक १०, काठमाण्डाैं
नेपाली भाषामा देखापरेका अव्यवस्था र अस्तव्यस्ताका विरुद्ध नेपाली भाषाको मानकीकरण अभियानलाई अझ सशक्त तुल्याउने तथा यस क्षेत्रमा क्रियाशील रहेका विभिन्न सङ्घसंस्था र व्यक्तिहरूसँग समन्वय, संयोजन र सहकार्य गर्दै विविध गतिविधिलाई अगाडि बढाउने उद्देश्यबाट २०७३ कात्तिक १० गते नेपाली केन्द्रीय विभागमा आयोजित विभिन्न विश्वविद्यालयका प्राध्यापक, साहित्यकार, प्राज्ञ, सञ्चारकर्मी, कानुन व्यवसायीलगायत देशविदेशका विभिन्न सङ्घसंस्थासँग सम्बद्ध विभिन्न क्षेत्रका भाषिक प्रयोक्ताहरूको भेलाले प्रा.डा.खगेन्द्रप्रसाद लुइटेलको अध्यक्षतामा ६३ सदस्यीय मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल गठन गरेको छ । नेपाली केन्द्रीय विभागका प्रमुख प्रा.डा.देवीप्रसाद गौतमको सभापतित्वमा बसेको बैठकमा सञ्जाल गठनको आवश्यकता, औचित्य र हालसम्म सञ्चालित गतिविधिहरूमाथि प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल र सहप्रा.भरतकुमार भट्टराईले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहप्रा.डा.लक्ष्मणप्रसाद गौतमले गर्नुभएको थियो । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालमा निम्नलिखित महानुभावहरू रहनुभएको छ ः
अध्यक्ष : प्रा.डा.खगेन्द्रप्रसाद लुइटेल 
वरिष्ठ उपाध्यक्ष : भरतकुमार भट्टराई
उपाध्यक्ष : प्रा.डा.कपिल लामिछाने, प्राज्ञ नरनाथ लुइटेल, डा.विजय सुब्बा, हरि अधिकारी
महासचिव : डा.लक्ष्मणप्रसाद गौतम
सचिव : राधेश्याम लेकाली
सहसचिव : ठाकुर बेलबासे
कोषाध्यक्ष : डा.नारायणप्रसाद गैरे 
सदस्यहरू 
त्रिवि 
अमृतप्रसाद आचार्य (सुकुना), डा.एकनारायण पौडेल (चितवन), प्रा.डा.कुसुमाकर न्यौपाने (पोखरा), केशवराज पोखरेल (शिक्षाशास्त्र), केशव सिग्देल (कीर्तिपुर), प्रा.डा.गोपालप्रसाद शर्मा अधिकारी (नेपालगन्ज), टङ्क भट्टराई (पाल्पा), पदमप्रसाद निरौला (तेह्रथुम), भरत शर्मा गैरीपिप्ली (विराटनगर), भोलानाथ ओझा (जनमैत्री), प्रा.डा.भोला पोखरेल (धरान), यजुर्वेदानन्दप्रसाद भट्टराई (म्याङ्लुङ), प्रा.डा.राजेन्द्रप्रसाद पौडेल (शिक्षाशास्त्र), रामप्रसाद गुरागाईं (इलाम), प्रा.डा.रामप्रसाद भट्टराई (शिक्षाशास्त्र), प्रा.डा.विद्यानाथ कोइराला (काठमाडौँ), डा.विश्वम्भरकुमार शर्मा (वीरगन्ज), डा.शैलेन्दुप्रकाश नेपाल (पद्मकन्या), होम सुवेदी (मेची)
नेसंवि 
अमरराज ढकाल (धरान), डा.भागवत ढकाल (वाल्मीकि), डा.मतिप्रसाद ढकाल (गैंडाकोट), डा.माधवप्रसाद पाण्डे (वाल्मीकि)
मपवि 
खोपीराम लम्साल (सुर्खेत), वासुदेव पाण्डे (सुर्खेत)
पूर्वप्राज्ञ सदस्य 
बुँद राना, भाउपन्थी, डा.रामदयाल राकेश
साहित्यकार 
अशोक सुवेदी, किशोर पहाडी, घिमिरे मैदेली, छविरमण सिलवाल, दिव्य गिरी, नरेन्द्रराज पौडेल, प्रतीक ढकाल, महेन्द्रकुमार मिश्र, राजेन्द्र विमल, श्रीओम श्रेष्ठ रोदन
सञ्चारकर्मी 
अखण्ड भण्डारी, गोपीकृष्ण ढुङ्गाना, घनेन्द्र ओझा, घमराज लुइटेल, ध्रुवहरि अधिकारी, मोहन दाहाल
कानुन व्यवसायी 
रामेश्वर राउत मातृदास, स्वागत नेपाल
विदेश 
पदम विश्वकर्मा (अमेरिका), डा.गोविन्दसिंह रावत (क्यानडा), कृष्ण बजगाईं (बेलायत), गणेश घिमिरे (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), निशा अर्याल (इजरायल), डा.टेकनारायण उपाध्याय (भारत)
सल्लाहकार 
प्रा.डा.देवीप्रसाद गौतम (प्रमुख, अध्यक्ष, नेपाली विषय समिति), मोदनाथ प्रश्रित (पूर्व शिक्षामन्त्री), डा उपेन्द्र देवकोटा (पूर्वमन्त्री), सूर्यनाथ उपाध्याय (पूर्वप्रमुख, अदुअआ), सरुभक्त (कुलपति, नेसनाप्र), डा.तारानाथ शर्मा (वरिष्ठ साहित्यकार), डा.ध्रुवचन्द्र गौतम (पूर्व सदस्यसचिव, नेप्रप), सनत रेग्मी (पूर्व सदस्यसचिव, नेप्रप), डा.बेञ्जु शर्मा (पूर्व प्राज्ञ सदस्य), प्रा.डा.रामचन्द्र लम्साल (पूर्व अध्यक्ष, शिक्षा नेपाली विषय समिति), प्रा.डा.पारसमणि भण्डारी (अध्यक्ष, शिक्षा नेपाली विषय समिति) 
यस मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले निकट भविष्यमा नै आम सरोकारवाला भाषिक प्रयोक्ताको बृहत् भेला आयोजना गरी नेपाली भाषामा देखापरेका अराजकता र अव्यवस्थाको अन्त्यका लागि विभिन्न कार्यक्रमहरू तय गर्नेछ । नेपाली भाषालाई माया गर्ने विभिन्न व्यक्ति र सङ्घसंस्थाका प्रतिनिधिहरूलाई समेत समावेश गरी यस सञ्जाललाई अझ विस्तार गर्दै लगिनेछ । नेपाली भाषाको मानकीकरणका सन्दर्भमा यस अन्तर्राष्ट्रिय सञ्जाललाई सबै क्षेत्रबाट उत्तिकै सद्भाव र सहयोग प्राप्त हुने विश्वास लिइएको छ ।

http://www.samakalinsahitya.com बाट साभार 

Monday, February 15, 2016

" गणतन्त्रपछिका नेपाली कथाका प्रवृत्ति " विषयक गोष्ठी सम्पन्न


नेपाल प्रज्ञा - प्रतिष्ठान र अविरल साहित्य प्रतिष्ठानको सहकार्यमा २०७२ साल फागुन १ गते सिन्धुपाल्चोक जिल्लाको बाँडेगाउ - ४, सिपाधुसेनी, नयाँ पानीमा " गणतन्त्रपछिका नेपाली कथाका प्रवृत्ति " विषयक गोष्ठी सम्पन्न भयो । दुइ चरणमा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा अविरल साहित्य प्रतिष्ठानका अध्यक्ष यदुनाथ बसन्तपुरेको अध्यक्षतामा सम्पन्न भएको थियो। पहिलो चरणमा सम्पन्न उक्त कार्यक्रममा अविरल अङ्क - ५ को लोकार्पण प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले गर्नु भएको थियो । चर्चित छन्दकवि जगन्नाथ आचार्यले स्वागत मन्तव्य गर्नु गर्नु भएपछि कविहरु भुवनहरि सिग्देल, राम बहादुर पहाडी , श्रीराम राई , नारायण निरासी , श्याम बहादुर भाबुक र राज बहादुर बोगटीको कविता बाचन पछि प्रा.डा. कृष्ण प्रसाद घिमिरेले नेपाली कथाको समकालीन प्रवृत्तिका बारेमा संक्षिप्त मन्तव्य राख्नुभयो । नेपाल प्रज्ञा - प्रतिष्ठान, गध्य / आख्यान विभागका प्रमूख एवम् कार्यक्रमका विशिष्ट अतिथी मातृका पोखरेलले कार्यक्रमको औचित्यता र प्रमुख अतिथि राजेन्द्र सुवेदीले मन्तव्य राख्नु भएपछि पहिलो चरणको कार्यक्रम समापन भएको थियो ।

कार्यक्रमको दोश्रो चरणमा कविहरु भुवनहरि सिग्देल , चन्द्रप्रसाद नेउपाने, नारायण निरासी , ब्रह्मप्रिय प्रेमस्वरूप , बुद्धिप्रसाद तिम्सिना, नवराज दाहाल, शान्ति नेउपाने , श्रीराम राई , प्रतिक बराल , ठाकुर शर्मा , तुलसिहरी कोइराला , बैरागी जेठा, रचना आचार्य , बलराम घिमिरे , स्वतन्त्र ठुलदाइ , सिताराम आचार्य सागरले गीत प्रस्तुत गर्नु भएको थियो भने सरस्वती अधिकारी , महेश्वर सापकोटा , सरस्वती सापकोटा , रोशन सागरले गीतहरु प्रस्तुत गर्नुभएको थियो । समालोचक प्रा.डा. कृष्णप्रसाद घिमिरेले " गणतन्त्रपछिका नेपाली कथाका प्रवृत्ति " विषयक कार्यपत्रको प्रस्तुति पछि कार्यक्रमका विशिष्ट अतिथी मातृका पोखरेलको मन्तव्य पश्चात सभापति यदुनाथ बसन्तपुरेले उक्त कार्यक्रमको समापन गर्नुभएको थियो । औपचारिक कार्यक्रमको समापन पश्चात पनि कवि एवम् गीतकारहरुले धुनी बालेर आ-आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए ।

http://www.samakaleensahitya.blogspot.com बाट साभार