Monday, May 25, 2026

प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे विचारगोष्ठी



काठमाडौँ, १० जेठ २०८३ / 

बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा प्रगतिशील लेखक सङ्घले आज राष्ट्रिय साहित्यिक विचारगोष्ठीको आयोजना गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा जेनजी आन्दोलनसँग सम्बन्धित कविता वाचन गरेर उद्घाटित सम्मेलनमा नेपाली प्रगतिशील साहित्यको अवस्था र भावी कार्यदिशाबारे छलफल भएको छ ।

सङ्घका पूर्वअध्यक्ष मातृका पोखरेलद्वारा प्रस्तुत ‘प्रगतिशील साहित्यको वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयक कार्यपत्रमा प्रलेसले नेपालको राजनीतिक परिवर्तनको कालखण्डमा सक्रिय सांस्कृतिक हस्तक्षेप र साहित्यलाई जनआन्दोलनसँग जोड्ने काम गरेको बताए । उनले वैचारिक सुदृढीकरण, साहित्यिक सृजना, समीक्षा, प्रकाशन, सङ्गठन, सङ्घर्ष, स्रष्टा हकहित र फरकफरक वाम समूहमा रहेर पनि प्रलेसभित्रको ऐक्यबद्धतामा जोड दिए ।

प्रलेसका सल्लाहकार डा विदुर चालिसेले ‘बूढानीलकण्ठ नगरपालिका प्रगतिशील साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकामा कविता वाचन, पुस्तक विमोचन र साहित्यिक सम्मेलनहरू नियमित हुन थालेको बताए । बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मीठाराम अधिकारीले कला, साहित्य र संस्कतिका क्षेत्रमा आफूहरूले सहकार्य बढाउने बताए ।

सङ्घका अध्यक्ष डा देवी क्षेत्री दुलालले नयाँ पुस्ताको सहभागितालाई सशक्त बनाउँदै प्रगतिशील साहित्यको अनुसन्धान तथा अभिलेखकीकरण कार्यलाई व्यवस्थित गर्नुपर्ने खाँचो औँल्याए ।

रासस

000

www.reportersnepal.com बाट साभार 











Saturday, December 13, 2025

उपन्यासकार धर्मेस पोखरेलको उपन्यास 'भोगाइ' को परिचर्चा कार्यक्रम

वि. सं. २०८२ साल मंसिर २७ गते शनिवार पद्मोदय विद्यालय, रामशाहपथ, पुतलीसडकमा उपन्यासकार धर्मेस पोखरेलद्वारा लिखित उपन्यास भोगाइको परिचर्चा कार्यक्रम सम्पन्न भयो ।

साहित्यकार, प्राज्ञ संस्कृतिकर्मीहरूको बिचमा भएको परिचर्चा कार्यक्रममा वरिष्ठ पत्रकार महेश्वर दाहालले भोगाइ उपन्यासमा नेपाली समाजमा जमेर बसेको कुरीती, कुसंस्कार र भोगाइहरुको संगालो छताछुल्ल भएको र लेखक आफैले भोगेका सास्तीहरूलाई उनेर तयार पारिएको कथा रहेको छ भनेर टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार मातृका पोखरेलले भोगाइ उपन्यासमा लेखक आफै जीवनमा पल-पल कसरी तडपिदै, पिडा सहँदै, फेरि पनि कसरी जिवन सुन्दर बनाउन, समाज सुन्दर बनाउन सकिन्छ भनेर गहिरो संघर्षमा झ्वाम्म हामफालेका छन् भन्नुहुदै उपन्यास मा प्राविधिक कमजोरीहरू रहे पनि विषयवस्तुका हिसावले उपन्यास सवल रहेको धारणा राख्नुभयो ।

वरिष्ठ संस्कृतिकर्मी डा. पुष्करराज भट्टले आफूले उपन्यास नपढेको भए पनि भोगाइ शिर्षक रहेकोले पक्कै पनि जी वन र समाजका भोगाइहरू नै यसमा उनिएको हुनुपर्छ भन्नुभयो। साथै उहाँले साहित्यकारहरूको संगठनलाई धेरै मजवुत बनाएर अघि बढ्नुपर्छ भन्ने धारणा राख्नुभयो ।

त्यसैगरी अर्का वक्ता जनसांस्कृतिक महासंघ, नेपालका अध्यक्ष भीम कुमाखीले उपन्यासकार धर्मेस पोखरेल यस उपन्यास भित्र कतै रूनुहुन्छ त कतै हास्नु हुन्छ भन्दै जीवनको संघर्षमा होमिदै बिभिन्न खाले आन्दोलनमा समाहित हुदै दशवर्षे जनयुद्धसँग जोडिन पुग्नुहुन्छ भन्नुहुँदै जीवनमा आशावादी हुँदै अगाडि बढ्नुपर्छ भन्ने सन्देश उपन्यासले दिएको छ भन्ने धारणा राख्नुभयो ।

अर्का वक्ता नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले उपन्यासमा प्रसस्त प्राविधिक कमजोरी भएको छ र त्यसलाई सच्याएको भए अझै उत्कृष्ट सिर्जना बन्न सक्थ्यो भन्दै उपन्यासकार लाई उपन्यास पस्किएकोमा बधाई दिनुभएको थियो ।

अर्का वक्ता साहित्यकार पुण्यप्रसाद आचार्यले यस उपन्यासले सामाजिक जीवनको बारेमा नेपाली समाजमा रहेको होचोअर्घेलो, उथलपुथलको बारेमा गहिरो जानकारी दिएको छ भन्नु भयो ।

अन्त्यमा उपन्यासकार धर्मेस पोखरेलले बरिष्ठ साहित्यकार एवं प्राज्ञहरूले औल्याएका गल्ती कमजोरीहरुलाई हृदयङ्गम गरी अगाडि बढ्ने प्रण गर्दै सबै साहित्य अनुरागी मित्रहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रम अखिल नेपाल लेखक संघको व्यानरमा बातालाबाको ३६ औं श्रृंखला अन्तर्गत सम्पन्न भएको थियो । उक्त कार्यक्रम बातालाबाका संयोजक तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य अगिव बनेपालीले संचालन गर्नुभएको थियो ।

000 

समाचार स्रोत : धर्मेश पोखरेल 













Thursday, December 4, 2025

साझा प्रकाशनको ६२ औँ स्थापना दिवससँगै पुल्चोकमा बृहत् पुस्तक प्रदर्शनी सुरू




काठमाडौँ । पुल्चोकस्थित साझा प्रकाशनको केन्द्रीय कार्यालय परिसरमा आजदेखि बृहत् पुस्तक प्रदर्शनी सुरु भएको छ। केन्द्रीय कार्यालयभित्र रातो भवनमा आयोजना गरिएको प्रदर्शनीको विधिवत् उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले गर्नुभएकाे हाे ।

प्रदर्शनी उद्घाटनभन्दा अघि साझा प्रकाशनले आफ्नो ६२ औँ स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएकाे थियाे । अध्यक्ष शेखर गिरीको सभापतित्वमा सम्पन्न समारोहमा प्रमुख आमन्त्रित अतिथिका रूपमा उपस्थित सचिव भुजेलले साझा प्रकाशनलाई “इतिहास बोकेको सम्मानित संस्था” भन्दै यसको संरक्षण र सुदृढीकरणका लागि राज्य सकारात्मक रुपमा उभिने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।

मन्त्रालयमा पदस्थापन भएको तीन दिनमै साझाको आर्थिक अवस्थासम्बन्धी फाइल हातमा परेको उल्लेख गर्दै उहाँले रु. ५० लाख बजेट स्वीकृत गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयाे । साहित्यप्रेमी भुजेलले साहित्यकारहरूप्रति विशेष सम्मान व्यक्त गर्दै आफू पनि साहित्यकार बन्न चाहेको तर बन्न नसकेको प्रसङ्ग स्मरण गर्नुभयाे ।

अध्यक्ष शेखर गिरीले साझा प्रकाशनको एक सय १३ वर्षे इतिहासको पुनःस्मरण गर्दै सातै प्रदेशको सांस्कृतिक जगेर्नामा साझा सक्रिय रहनुपर्ने बताउनुभयाे । नयाँ प्रविधि अपनाउँदै प्रकाशन र पठन संस्कृतिलाई युगअनुकूल अघि लैजाने योजनाका बारेमा पनि जानकारी गराउनुभयाे ।

कार्यक्रममा प्रा.डा. अभि सुवेदी, प्रा.डा. तुलसी भट्टराई, मातृका पोखरेल तथा पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीले साझा प्रकाशनको ऐतिहासिक योगदान, वर्तमान चुनौती र भावी दिशाबारे विशद् मन्तव्य राख्नुभएकाे थियाे ।

साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले आर्थिक र भौतिक अवस्थाबारे जानकारी दिँदै विगत केही वर्षयता संस्थाले भोगिरहेका कठिनाइहरू उल्लेख गर्नुभयाे । छापाखानाका उपकरण पुराना भइसकेको र नयाँ प्रविधि तथा विद्युतीय माध्यममार्फत पुस्तक प्रकाशनमा अघि बढ्ने सोच रहेको बताउनुभयाे ।

कार्यक्रमका संयोजक प्रा.डा. ध्रुव घिमिरेले स्वागत मन्तव्य राख्दै साझा प्रकाशनलाई आधुनिक व्यवस्थापनका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयाे । शेयरधनी प्रतिनिधिका रूपमा ओम श्रेष्ठ ‘रोदन’ र सीता पाण्डेले पनि आफ्ना धारणा प्रस्तुत गर्नुभयाे ।

साझा प्रकाशनले आयोजना गरेको बृहत् पुस्तक प्रदर्शनीमा उपलब्ध पुस्तकहरूमा ३० प्रतिशतसम्म छुट प्रदान गरिएको छ। प्रदर्शनी केही दिनसम्म निरन्तर रहने बताइएको छ।

000

२०८२ मंसिर १७ बाट साभार


















 

Saturday, July 26, 2025

कृति विमोचन तथा स्रष्टा सम्मान सम्पन्न

 


नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले २०८२ साउन १० गतेका दिन काठमाडौंमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्द अर्याल ‘श्रृङ्खला’ले गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टले संस्थाका गतिविधिका साथै आजको कार्यक्रमका विषयमा जानकारी दिनुभएको थियो । नेपाल सरकारका पूर्व पशुपक्षी मन्त्री तथा साहित्यकार शान्ता मानवी प्रमुख अतिथि रहनुभएको थियो । समारोहमा डा. हरिप्रसाद भण्डारीलाई पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ प्रदान गरिएको थियो । सम्मानित स्रष्टा डा. हरिप्रसाद भण्डारीको जीवनी, कृतित्व र व्यक्तित्व बारेमा शेखर अर्यालले प्रकाश पार्नु भएको थियो । उहाँले डा. भण्डारीको लेखन यात्राका साथै सम्पादन एवं समालोचनाका क्षेत्रमा पुऱ्याउनुभएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । सम्मानित प्रतिभा डा. हरिप्रसाद भण्डारीले आफ्ना अनुभूति प्रकट गर्नुभएको थियो । 

आज सम्पन्न समारोहमा नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सृजनातर्फको छैठौं कृति 'आमा धरती बाबु आकाश'को प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीले विमोचन गर्नुभयो । समारोहमा विमोचित कृतिको बारेमा डा. शेखरकुमार श्रेष्ठले प्रकाश पार्नुभयो । उहाँले यस कृतिमा अनुभूति, संवेदना, संघर्षका साथै मानवीय जीवनका विभिन्न पक्षको बारेमा जानकारी दिनुभयो । उहाँले कृतिमा सामान्य कमजोरी भए पनि कृति स्तरीय र पठनयोग्य भएको विचार व्यक्त गर्नुभयो । समारोहमा दीपक लोहनी, नवराज रिजाल, डा.टीकाराम पोख्रेल, मातृका पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । आज विमोचित कृतिका रचना लघुकथाकार किशन पौडेल, मनीषकुमार शर्मा समित्, इन्दिरा चापागाई, प्रार्थना खनाल एवं शान्ता तिम्सिनाले वाचन गर्नुभएको थियो । प्रमुख अतिथि शान्ता मानवीले आफ्नो जीवन राजनीतिक क्षेत्रमा बढी बितेको भए पनि आफूले साहित्य क्षेत्रलाई सधैँ माया गरिरहने विचार व्यक्त गर्नुभयो । उहाँले साहित्यले समाज र राजनीतिलाई सही दिशामा ल्याउन मद्दत पुग्ने बताउनु भयो । बिहान ८.३० बाट प्रारम्भ भएको कार्यक्रम १०.३० मा समापन भएको थियो ।

000

समाचार स्रोत : डा. पुष्करराज भट्ट

----------------------

कार्यक्रमका अन्य तस्विरहरू :