नेपाल वाङ्मय परिषद धनगढी, कैलालीले २०८२ साउन १० गतेका दिन काठमाडौंमा कृति विमोचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको अध्यक्ष डा. पुष्करराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोविन्द अर्याल ‘श्रृङ्खला’ले गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा संस्थाका अध्यक्ष डा. पुष्करराज भट्टले संस्थाका गतिविधिका साथै आजको कार्यक्रमका विषयमा जानकारी दिनुभएको थियो । नेपाल सरकारका पूर्व पशुपक्षी मन्त्री तथा साहित्यकार शान्ता मानवी प्रमुख अतिथि रहनुभएको थियो । समारोहमा डा. हरिप्रसाद भण्डारीलाई पद्मा–रामचन्द्र लघुकथा सम्मान २०८१ प्रदान गरिएको थियो । सम्मानित स्रष्टा डा. हरिप्रसाद भण्डारीको जीवनी, कृतित्व र व्यक्तित्व बारेमा शेखर अर्यालले प्रकाश पार्नु भएको थियो । उहाँले डा. भण्डारीको लेखन यात्राका साथै सम्पादन एवं समालोचनाका क्षेत्रमा पुऱ्याउनुभएको योगदानको बारेमा चर्चा गर्नुभएको थियो । सम्मानित प्रतिभा डा. हरिप्रसाद भण्डारीले आफ्ना अनुभूति प्रकट गर्नुभएको थियो ।
आज सम्पन्न समारोहमा नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुष्करराज भट्टको सृजनातर्फको छैठौं कृति 'आमा धरती बाबु आकाश'को प्रमुख अतिथि लगायत सम्पूर्ण सहभागीले विमोचन गर्नुभयो । समारोहमा विमोचित कृतिको बारेमा डा. शेखरकुमार श्रेष्ठले प्रकाश पार्नुभयो । उहाँले यस कृतिमा अनुभूति, संवेदना, संघर्षका साथै मानवीय जीवनका विभिन्न पक्षको बारेमा जानकारी दिनुभयो । उहाँले कृतिमा सामान्य कमजोरी भए पनि कृति स्तरीय र पठनयोग्य भएको विचार व्यक्त गर्नुभयो । समारोहमा दीपक लोहनी, नवराज रिजाल, डा.टीकाराम पोख्रेल, मातृका पोखरेलले शुभकामना मन्तव्य राख्नुभएको थियो । आज विमोचित कृतिका रचना लघुकथाकार किशन पौडेल, मनीषकुमार शर्मा समित्, इन्दिरा चापागाई, प्रार्थना खनाल एवं शान्ता तिम्सिनाले वाचन गर्नुभएको थियो । प्रमुख अतिथि शान्ता मानवीले आफ्नो जीवन राजनीतिक क्षेत्रमा बढी बितेको भए पनि आफूले साहित्य क्षेत्रलाई सधैँ माया गरिरहने विचार व्यक्त गर्नुभयो । उहाँले साहित्यले समाज र राजनीतिलाई सही दिशामा ल्याउन मद्दत पुग्ने बताउनु भयो । बिहान ८.३० बाट प्रारम्भ भएको कार्यक्रम १०.३० मा समापन भएको थियो ।
000
----------------------
कार्यक्रमका अन्य तस्विरहरू :
No comments:
Post a Comment